काठमाडाैं । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरिएकाे समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले जानकारी दिनुभयो ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाँले बताउनुभयो ।
साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
समितिले संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
