काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले नै सदन चलाउन नचाहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै राप्रपा अध्यक्ष लिङ्देनले सदन चलाउने विषयमा प्रतिपक्षलाई अभियाेग लगाएर सरकारले मस्तले बसिरहेकाे बताउनुभयाे ।
सुन तस्करी काण्डमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनैपर्ने उहाँले बताउनुभयाे । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डमा लगायत अहिलेसम्मका कुनै पनि काण्डमा सरकारकाे अनुसन्धान पूर्ण नभएका भन्दै अध्यक्ष लिङ्देनले त्यस्ताे समिति बनाउन सरकार मञ्जुर हुनुपर्ने बताउनुभयाे ।
छानबिन समिति बनाउँदा सरकारकाे के जाथ्याे भन्ने प्रश्न समेत उहाँले गर्नुभयाे । 'प्रतिपक्ष दलले यस्ताे गम्भीर विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनेर माग अगाडि सार्दाखेरी, त्याे समिति बनाइँदिँदाखेरी सरकारलाई, देशलाई क्षति हुने विषय के थियाे ? के नाेक्सान हुन्थ्याे ? बुझाैं न त'-अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
सरकारले गरेका सबै अनुसन्धान पूर्ण नभएका र आफ्नालाई जाेगाउने नियत देखिएकाे समेत उहाँले बताउनुभयाे । अध्यक्ष लिङ्देनले प्रश्न गर्नुभयाे - 'सरकारले गरेका सबै अनुसन्धान पूर्ण छन् ? सुनियतसाथ छन् ? अहिले खाेलिएका फाइलहरुमा कारबाही गर्नुपर्ने अनुसन्धान हुनुपर्ने सबै विषयमा भएका छन् के नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाइँहरुले गर्नुभएकाे अनुसन्धान पूर्ण छ ? ललिता निवास प्रकरणमा त अदालतले भन्याे नि तपाइँकाे अनुसन्धान अपूर्ण छ तपाइँले छल्नुभएकाे छ काेही मानिस जाेगाउनुभएकाे छ भन्याे नि त अदालतले ।'
सुन तस्करी काण्डमा प्रहरी प्रमुख, गृहमन्त्री र अर्थमन्त्रीकाे बयान सीआईबीले लिन सक्छ भन्दै उहाँले प्रश्न गर्नुभयाे 'सरकारले गरेकाे अनुसन्धान मात्रै पूर्ण छैनन्, सरकारका निकायले गरेका अनुसन्धान मात्रै पूर्ण हुँदैनन्, सुन काण्डमा पनि प्रहरीकाे प्रमुखलाई बयान लिनुपर्याे भने सीआईबीले लिन्छ सक्छ ? गृहमन्त्रीकाे, अर्थमन्त्रीकाे बयान कसले लिन्छ ? तपाइँकै सांसद्ले नाम किटेर भन्नुभयाे तपाइँहरुमाथि अनुसन्धान हुनुपर्छ भनेर सीआईबीले तपाइँहरुसँग बयान लिन सक्छ ? त्यसकारण यसकाे निष्पक्षाताका लागि जनतालाई विश्वास दिलाउनका लागि तपाइँहरु उच्चस्तरीय छानबिन समिति बनाउन मञ्जुर हुनुस्'-अध्यक्ष लिङ्देनले भन्नुभयाे ।
समिति बन्दाबित्तिकै सबै मन्त्री मुछिने र सरकार ढल्ने भन्ने हुन्छ र भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
अध्यक्ष लिङ्देनले प्रमुख ३ दल मात्रै बसेर बार्गेनिङ गरेकाे भन्दै आपत्ति समेत जनाउनुभयाे ।
