काठमाडौं । प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसद् अवरुद्ध हुँदा नागरिकका आवाज रोकिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले सुन काण्डलाई लिएर संसद् अवरुद्ध हुँदा सरकारको ध्यानाकर्षण गराउनु पर्ने धेरै विषय उठाउन नपाइएको बताउनुभयो । श्रमिकको ज्याला, लम्पी स्किन, तामाङ आन्दोलन माथि सरकारको अनावश्यक बल प्रयोग, लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन नपाएको भन्दै उहाँले गुनासो गर्नुभयो । एक सय किलो अवैध सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिनुमा सरकारको कमजोरी भएको भए पनि सिनामंगल चोकमा पुग्दा त्यसलाई सच्याएको उहाँले बताउनुभयो । ‘सरकारको एउटा हातले कमजोरी गर्यो एयरपोर्टमा, सरकारको अर्को हातले फेरी पक्रियो सिनामगंलको चोकमा’, उहाँले भन्नुभयो ।
शर्माले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने कुरा गर्दा संविधान र कानुनले अधिकार दिएका निकाय प्रति अविश्वास हुने बताउनुभयो । शर्माले कानुन र संविधानले व्यवस्था गरेका निकाय प्रति किन विश्वास गर्न सकिएको छैन भन्ने कुरामा छानबिन गर्नुपर्ने बताउनुभयो ।
छानबिन आयोगको विषयमा प्रतिपक्षले उठाएको विषयमा छलफलमै रहेकोले त्यसको निष्कर्षमा पुगिने उहाँले बताउनुभयो । कम्तीमा १ सय किलो सुन पक्राउ परको बताउँदै शर्माले ३३ किलो सुन प्रकरणमा एक तोलासमेत सुन नभेटिई फाइल बन्द भएको बताउनुभयो । संसदमा प्रतिपक्षले नियमापत्ति भन्दै संसद् अवरुद्ध गरेर जनताको आवाज उठान नदिएको उहाँले बताउनुभयो । संसद् प्रतिपक्षको हो भनेर अवरुद्ध गर्ने हो भन्ने सत्ता पक्षले कहाँ रत्नपार्कमा गएर बोल्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
