काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले सर्वाेच्च अदालतले आदेश दिएकै भाेलिपल्ट माधव कुमार नेपाललाई विदेश जान दिइएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सभापति लामिछानेले ललिता निवास काण्डमा सरकारका बहालवाला सचिवलाई जहाजकाे सिटबाटै पक्राउ गर्ने तर अदालतले अनुसन्धान गर्नु भनेका पूर्व प्रधानमन्त्रीलाई विदेश भ्रमणमा जान छुट दिनु न्यायसंगत नभएको बताउनुभयाे ।
सर्वोच्च अदालतले अनुसन्धान गर्नु भनेका पूर्व प्रधानमन्त्रीलाई बाहिर जान दिने र कसैलाई जहाजबाटै पक्राउ गर्ने खालकाे विभेद नगर्न समेत उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान केही नाम आउने बित्तिकै अड्कियाे, ललिता निवास प्रकरणकाे अनुसन्धान केही नाम आउने बित्तिकै अड्किएको थियो, ललिता निवासमा अदालतको आदेश नै चाहिँदैन थियो, तर अदालतले आदेश गरिसक्यो, सरकारकाे बहालवाला सचिव हवाईजहाजको सिटबाट कठालोमा समातेर ल्याइन्छन्, देशका पूर्व प्रधानमन्त्रीलाई अदालतले छानबिन गर्नु भनेकाे भोलिपल्ट नै जान दिइन्छ, यो विभेद एउटै केसमा कसरी भयो ? यसले आशंकाहरू उब्जिएका छन्'- सभापति लामिछानेले भन्नुभयाे ।
उहाँले सुन तस्करी काण्डमा बाटैमा समातिएकाे सुन समाेतपछि मालिकसम्म किन नगएकाे भन्दै प्रश्न गर्नुभयाे । ३ दिनपछि गाेदाममा छापा मार्ने र तस्करहरुलाई भाग्न छुट दिने काम भएकाे भन्दै सभापति लामिछानेले आपत्ति जनाउनुभयाे ।
भेपबाट सुन तस्करी गरेकाे काण्डमा सत्तारुढ दलका नेतालाई जाेगाउने काम भइरहेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । यसमा सत्तापक्षकै भएका कारण प्रहरीले समेत मिडिया ट्रायल गरेकाे सभापति लामिछानेले बताउनुभयाे । सुन काण्डमा अनुसन्धान गर्दा राज्यको निकायमा बसेका व्यक्तिहरुमाथि पनि छानबिन गर्छु भन्ने प्रतिबद्धता गृहमन्त्रीले जनाउनुपर्ने पनि उहाँले बताउनुभयाे ।
सुन तस्करी काण्डका लागि उच्चस्तरीय छानबिन समिति गठनको आवश्यकता छ कि छैन भन्नका लागि पनि सदन चल्नुपर्ने भन्दै सभापति लामिछानेले आवश्यक परे समिति बनाउनुपर्ने बताउनुभयाे ।
तीन दलबीच कुरा मिल्दा एक हुने र कुरा नमिल्दा सदन नै अवरोध गर्ने देखिएको भन्दै उहाँले संसद्लाई नै बन्धन बनाउने काम भएको बताउनुभयाे । सदनको बैठक समय तोकिएको समयमा नै सुरु गर्ने अवस्था सिर्जना गर्न सभामुखको ध्यानाकर्षण गराउँदै सभापति लामिछानेले विवादका विषय सभामुख र ३ नेता बसेर समय भन्दा अघि नै मिलाउन सुझाव दिनुभयो ।
