काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणको छानबिन राज्यको एउटा निकायले गरिहरेकोले त्यसको काममा अवरोध गर्नु नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले नेपालमा सुन तस्करी अन्य सरकारका पालामा पनि हुने गरेका भए पनि अहिलेको सरकारले एक सय किलो सुन समातेको दाबी गर्नुभयो । उहाँले सरकारले गरेको यो राम्रो कामको प्रशंसा गर्न आग्रह गर्नुभयो । ‘सुन आउने जाने त भइरहेकै रहेछ’, उहाँले भन्नुभयो ।
अहिलेको सरकारले विभिन्न घटनाको जरासम्म पुगेर खोजविन गरेको उहाँले दाबी गर्नुभयो । सरकारले गरेको यो काममा अवरोध पुर्याउन खोजेको भन्दै उहाँले प्रतिपक्षीको आलोचना गर्नुभयो । सरकारले गरेका राम्रो कामलाई पनि प्रतिपक्षले राम्रो भन्न नसकेको उहाँले बताउनुभयो । ‘स्याबासी दिनुपर्थ्यो, झन् प्रश्न उठाउनुभयो’, उहाँले भन्नुभयो ।
उहाँले बारम्बार प्रतिपक्षीले संसद् अवरुद्ध गरेको भन्दै आलोचना गर्नुभयो । सदन रोकिँदा जनताको कुरा राख्ने ठाउँ अवरुद्ध हुने उहाँले बताउनुभयो । ‘राम्रा कामलाई त राम्रो भन्नु पर्यो नि’, उहाँले भन्नुभयो ।
संविधान बनाउँदा राज्यका निकाय व्यवस्था गर्ने विषयमा सबैको सहमति रहेको उहाँले स्मरण गराउनुभयो । ती निकाले काम गरिरहँदा अर्को समिति बनाउँदा गरिरहेको काम माथि प्रश्न उठ्ने उहाँले बताउनुभयो । आफूहरू सिद्धान्ततः संसदीय छानबिन समितिको विरुद्ध नभए पनि अहिले भइरहेको छानबिनलाई निष्कर्षमा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।
