काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका सचेतक महेश बर्तौलाले राजनीतिक पार्टी र संसदमा उठेको गम्भीर विषयमा सरकार गम्भीर नभएको भन्दै आलोचना गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सरकाले संसदबाट देशलाई भ्रमित गर्ने काम गरेको बताउनुभयो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेले गरेको मागको सुनुवाइ नगरी एमालेले संसद् चल्न दिएन भनेर सरकार उल्टै एमाले प्रति कुटिल हिसाबले खनिएको उहाँको भनाइ छ । ‘हामीले उठाएको उच्चस्तरीय छानबिन समितिको माग के भयो, किन यो विषय तपाईँले उठान चाहनु भएन’, उहाँले भन्नुभयो ।
एमालले राज्यका सबै निकायलाई विश्वास र सम्मान गर्ने पनि उहाँले बताउनुभयो । राजश्व विभागले सुन आउने कुरा १० दिन पहिला नै थाहा थियो र त्यसको सूचना प्रधानमन्त्रीलाई दिएको दिएको भनेकोले त्यो जानकारी गृह मन्त्री र अर्थ मन्त्रीलाई थाहा थियो कि थिएन ? भनि उहाँले प्रश्न गर्नुभयो ।
यदि गृह मन्त्री र अर्थ मन्त्रीलाई त्यो कुरा थाहा थियो भने विमानस्थलको सुन विमानस्थलको सुरक्षा जाँच र भन्सारबाट कसरी पास भएर सडकमा पुग्यो भन्दै बर्तौलाले प्रश्न गर्नुभयो । ‘त्यस कारण हामीलाई शंका गृह मन्त्री र अर्थ मन्त्री प्रति पनि छ, यहाँ छानबिन गर्नुपर्छ, हो यहीँनेर हो आजसम्म राजश्वले र सीआईबीले गृह मन्त्री र अर्थ मन्त्रीलाई पनि अनुसन्धानको घेरामा ल्याएका भए हामी उच्चस्तर छानबिन समितिको माग गर्दैनथ्यौँ’, उहाँले भन्नुभयो ।
बर्तौलाले राजश्व अनुसन्धान र सीआईबीलाई सरकाले प्रभावमा राखेको बताउनुभयो । त्यस कारण उच्चस्तरीय छानबिन समितिको माग यथावत् रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘हाम्रो माग जारी छ’, उहाँले भन्नुभयो ।
