काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी काण्डको छानबिनका लागि अहिले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई छानबिन गर्न दिनुपर्ने बताउनुभयाे । 'संसदीय समिति बनाएकाे पनि हेर्याैं हामीले सुनकाण्डमा, त्यसकाे प्रतिवेदन कुनै कार्यान्वयन भएन त्याे निरर्थक भएर सिद्धियाे, सीआईबीलाई दिनुकाे सट्टा सरकारले उच्चस्तरीय छानबिन समिति बनायाे, त्यसले ३३ किलाे सुनकाे १ ग्राम पनि पत्ता लगाउन सकेन, त्यसकारण उच्चस्तरीय छानबिन समिति बनाएर हाेइन, राज्यले अनुसन्धानका लागि बनाइएकाे संयन्त्रलाई जिम्मा दिनुपर्छ, यति त विश्वास गर्नुपर्छ'- उहाँले भन्नुभयाे ।
सीआईबीकाे अनुसन्धानमा चित्त नबुझे नयाँ शिराबाट अनुसन्धान गर्न सकिने भन्दै गृहमन्त्री श्रेष्ठले सीआईबीलाई विश्वास गर्न आग्रह गर्नुभयाे । 'राजश्व अनुसन्धान विभागले २० दिन अनुसन्धान गरेर संगठित अपराधमा अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदनसहित फाइल बुझाएको छ, संगठित अपराधमा प्रहरीले ६० दिन अनुसन्धान गर्न पाउँछ, ५ दिन सरकारी वकिलले अभियोजनका लागि समय लिन्छ, ३५ दिन सीआइबीले काम गर्न पाउँछ, सीआईबीले दोषी र तस्करको पहिचान गर्छ अनि कारबाहीको दायरामा ल्याउँछ भन्ने विश्वास छ, अनि त्याे भएन भने त्यतिखेर छलफल र बहस गराैंला, जसले अभियोजन गर्छ उसलाई नै अनुसन्धान गर्न दिनु पर्याे नि अहिले त, त्याे भएन, त्यहाँ अपराधी लुकाउने दुर्नियत देखा पर्याे भने त्यसपछाडि ल नयाँ शिराबाट जाउँ भनेर बहस गर्नु उपयुक्त हाेइन र ?'- उहाँले भन्नुभयाे ।
दाेषी कसैलाई छुट नदिने दिशामा सबै लाग्नुपर्ने र सरकार पनि लाग्ने गृहमन्त्री श्रेष्ठले बताउनुभयाे । सुन काण्डकाे छानबिन गरी अनुसन्धानलाई निश्कर्षलाई पुर्याएर दोषी, अपराधी र तस्करलाई कारबाहीको दायरमा ल्याउनु पहिलो कार्यभार रहेकाे उहाँले बताउनुभयाे । याे खालकाे गतिविधिको पुनरावृत्ति नहोस् भन्नका लागि विमानस्थलको सुरक्षा र व्यवस्थापनलाई पुनर्विचार र सुधारका लागि नीति र कार्ययोजना विकास गर्नु सरकारकाे अर्काे कार्यभार रहेकाे समेत रहेकाे गृहमन्त्री श्रेष्ठले बताउनुभयाे ।
भ्रष्टाचार काण्डलाई राजनीतिसँग जाेड्न नहुने भन्दै गृहमन्त्री श्रेष्ठले यसकाे छानबिन निष्पक्ष हुने बताउनुभयाे । भेपकाे सन्दर्भमा दाेषी सबैलाई कारबाहीकाे दायरामा ल्याइने बताउनुभयाे ।
