काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि मंगलबारको प्रतिनिधि सभा बैठक पनि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय समिति नबनेसम्म बैठक चल्न नदिने अडान राखी नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । मंगलबारको बैठकमा सबै राजनीतिक दलका एक एक जना सांसदहरूले आफ्नो धारणा राखेपछि उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जवाफ जवाफ दिनुभएको थियो । गृहमन्त्रीले सो घटनाको छानबिन राजश्व अनुसन्धान र सीआईबीले गर्ने जवाफ दिएपछि एमालेले त्यसलाई अस्वीकार गरेको हो ।
गृह मन्त्रीको जवाफ पछि एमालेका सचेतक महेश बर्तौलाले उच्चस्तरीय समिति गठनको माग जारी रहेको बताउनुभयो । समिति नबनेसम्म बैठक चल्न नदिने उहाँले बताउनुभयो ।
एमाले सांसदले समिति गठनको माग गरी नाराबाजी गरेपछि सभामुख देवराज पौडेलले बैठक बुधबार दिउँसो १ बजे सम्मको लागि स्थगित गर्नुभएको छ ।
