काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुन तस्करी काण्डको छानबिनको लागि निगरानी राख्ने जिम्मेवारी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई दिनुपर्ने बताउनुभएकाे छ ।
मंगलबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सीआईबी लगायत राज्यका स्थायी निकायलाई सुन काण्डकाे छानबिन गर्न दिने र राज्यव्यवस्था समितिले ती निकायमाथि अनुसन्धासँगै निर्देशन दिन सक्ने जिम्मेवारी दिनुपर्ने बताउनुभयाे ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारका तर्फबाट उच्चस्तरीय छानबिन समिति बनाउन नसकिने कुरा प्रतिनिधि सभा बैठकमा बताएकाे केहीबेरमा नै नेता लेखकले राज्य व्यवस्थालाई जिम्मा दिनुपर्ने बताउनुभयाे । त्यसाे गर्दा उचित हुन्छ भनेर आफूले शीर्ष नेताहरुकाे छलफलमा पनि कुरा राखेकाे समेत उहाँले बताउनुभयाे ।
समितिलाई अुनसन्धान र निगरानीकाे जिम्मेवारी दिँदा समितिले आवश्यक ठाने प्रधानमन्त्री मन्त्री सबैलाई समितिमै बाेलाएर छलफल गर्न सक्ने पनि उहाँले बताउनुभयाे ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा गृहमन्त्री श्रेष्ठले सुन काण्डमा उच्चस्तरीय छानबिन समिति अहिले बनाउन नसकिने र सीआईबीले नै त्यसकाे अनुसन्धान गर्ने बताउनुभएकाे थियाे । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने उच्चस्तरीय छानबिन समिति बनाउनैपर्ने माग राखेकाे छ । एमालेकाे माग राप्रपाकाे पनि समर्थन छ ।
मिनी संसद्मा भने सत्तापक्ष र प्रतिपक्ष सबै त्यस्ताे समिति बनाउन एकमत छन् ।
