काठमाडौं । प्रतिनिधि सभाकाे बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएकाे छ ।
सुन तस्करी काण्डकाे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने अडानसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेले विराेध जनाएपछि सभामुख देवराज घिमिरेले साउन २६ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे ।
बुधबार बैठक सुरु हुनासाथ एमाले सांसद्हरुले उठेर विराेध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद् सूर्य थापालाई बाेल्न समय दिनुभयाे ।
सत्तापक्षकै सांसद्काे हाेहल्लाबीच सांसद् थापाले सुन तस्करी काण्डबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएकाे जवाफ चित्तबुझ्दाे नभएकाे बताउनुभयाे । गृहमन्त्रीले सुन तस्करीलाई संरक्षण गर्नेगरी अभिव्यक्ति दिएकाे र छानबिन समिति बनाउन नमानेका कारण आफूहरुकाे विराेध जारी रहेकाे उहाँले बताउनुभयाे ।
त्यसपछि सभामुखले थापाकाे समय सकिएकाे जानकारी गराउनासाथ एमाले सांसद्हरु राेष्टम अगाडि आएर नाराबाजी गरे । सभामुखले देश बाढी पहिराेले आक्रान्त भएका र जनताका समस्या समाधान गर्नुपर्ने जिम्मेवारी भएकाले आसनमा बसेर सहयाेग गर्न एमालेका सांसद्लाई आग्रह गर्नुभयाे । उहाँले विराेध र कार्यसूचीलाई सँगै लगेर सदनकाे कार्यसूची कार्यान्वयन गर्ने वातावरण बनाउन अनुराेध गर्नुभयाे ।
सदन जनताका समस्या सुनाउने र समाधान गर्ने सर्वाेच्च निकाय भएकाे भन्दै सभामुख घिमिरेले आसनग्रहण गरेर नियमित कार्यसूचीमा फर्किन पनि सभामुख घिमिरेले विशेष आग्रह गर्नुभयाे । तर एमाले सांसद्ले टेरेनन् । त्यसपछि सभामुखले बैठक शुक्रबारसम्मका लागि स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
