काठमाडाैं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिनिधि सभा बैठकमा सत्तापक्षका सांसद्ले दादागिरी देखाएकाे बताउनुभएकाे छ ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक बर्ताैलाले प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्तापक्षले बुधबारकाे प्रतिनिधि सभा बैठकमा दादागिरी देखाएकाे बताउनुभयाे ।
'प्रतिपक्षको तर्फबाट हाम्रा माननिय सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न सभामुखले समय दिँदा समेत सत्ता पक्षका माननियहरूले उठेर अवरोध गर्नुभयो, सत्तापक्षको यस किसिमको दादागिरी देखा पर्याे, यसले के देखाउँछ भने - सरकार सदन चलाउन चाहँदैन, सत्तापक्ष संसद्मा द्वन्द्व गर्न चाहन्छ, प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन ? आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन ? जब हाम्रा सांसद् उठ्नुभयाे अनि सत्तापक्षका सांसद्ले संसद्मा द्वन्द्व मच्चाउनेगरी त्यसरी जान मिल्छ ? याे संसदीय मूल्यमान्यता विरुद्ध छ, प्रतिपक्षले बाेल्ने अधिकारमाथि सत्तापक्षले कुण्ठित गर्नुभयाे' - उहाँले भन्नुभयाे ।
सदन चल्न दिइएन भनेर प्रतिपक्षमाथि दाेष थुपार्ने र याेजनाबद्ध रुपमा गल्ती आफू गर्ने काम सत्तापक्षले गरेकाे सचेतक बर्ताैलाले बताउनुभयाे ।
