काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका सांसद् डा. सुनिल शर्माले सरकारले नै संसद्लाई अनिर्णयकाे बन्दी बनाएकाे बताउनुभएकाे छ ।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् शर्माले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति नबनाएर सरकारले नै सदनलाई अनिर्णयकाे बन्दी बनाएकाे बताउनुभयाे ।
सुन तस्करी काण्डमा सम्बन्धित मन्त्री (अर्थमन्त्री र गृहमन्त्री) हरुले राजीनामा दिने र उच्चस्तरीय छानबिन समिति बनाउने काम गर्नुपर्नेमा संसद् अवराेध हुने अवस्था सिर्जना गरेर सरकारले गलत गरिरहेकाे उहाँले बताउनुभयाे ।
सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने भन्दै सांसद् शर्माले त्यस्ताे समिति बनाउन माओवादी सांसद् तयार नभएकाे बताउनुभयाे । सीआईबी र राजश्व अनुसन्धान विभागलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक रहेकाे भन्दै उहाँले उच्चस्तरीय छानबिन समिति बनाउन ढिलाे चाँडाे माओवादी तयार हुनैपर्ने बताउनुभयाे ।
सुन तस्करी काण्डमा राजश्व अनुसन्धान विभाग र सीआईबीले मात्रै अनुसन्धानको निस्कर्ष निकाल्न नसक्ने सांसद् शर्माले बताउनुभयाे । 'यो पक्ष-विपक्षको कुरा होइन, देशका नागरिकको कुरा हो, सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन, यो राज्यको संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएको हो, त्यसैले सीआईबी, राजश्व अनुसन्धानलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक छ'- उहाँले भन्नुभयाे ।
सीआईबीकाे काम र राजस्वकाे कामकाे अनुसन्धान र निगरानी गर्ने काम प्रतिनिधि सभाकाे राज्य व्यवस्था समितिलाई दिनुपर्ने कुरा कांग्रेस सचेतक रमेश लेखकले बताइसक्नुभएकाे भन्दै उहाँले साे समितिलाई पूर्ण अधिकार दिएर छानबिन गर्न सकिने बताउनुभयाे ।
