काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ ।
दिउँसो १ बजेको लागि बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र सभामुखले पढेर सुनाउने कार्यसूची पनि आजको बैठकमा छ ।
बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने कार्यसूची पनि आजको बैठकमा छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । साथै शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यसूची पनि आजको बैठकमा छ । सभामुखले १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचना सभामा पेश गर्ने कार्यसूची आजको लागि तय भएको छ ।
गत साउन १० गतेबाट प्रतिनिधि सभा बस्न सकेको छैन । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गर्दै आएको छ । राजनीतिक दल बिच सहमति नभएकोले आजको बैठक चल्ने सम्भावना पनि न्यून छ ।
