काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले सीआईबी र राजश्व जुन मन्त्रालयको अण्डरमा बसेर काम गरिरहेका छन् त्यसकै नेतृत्व माथि सुन तस्करीमा आशंका भएकोले उच्च स्तरीय छानबिन समिति गठनको माग गरिएको बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै राईले सरकारले अहिले काम गरिरहेका निकायको समेत सहयोग लिएर उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘उच्चस्तरीय छानबिन समिति बनाउँदा केही भुईँचालो जाने पनि मैले देख्दिन’, उहाँले भन्नुभयो ।
नेपाल प्रहरीले आफ्नै सर्वोच्च निकाय माथि छानबिन गर्न सक्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । त्यस्तै राजश्व अनुसन्धानले अर्थ मन्त्री विरुद्ध छानबिन गर्न नसक्ने उहाँको भनाइ छ ।
गठबन्धनको आड र संरक्षणमा गठबन्धन दलका कुनै नेता माथि सुन तस्करी प्रकरणमा छानबिन नहुनु दुःखको कुरा भएको उहाँले बताउनुभयो । गठबन्धनको आडमा शङ्कास्पद व्यक्ति माथि छानबिन नै अघि नबढाउने र छोप्ने कुरा दुखद भएको उहाँले बताउनुभयो । ‘गठबन्धन संस्कृति लोकतन्त्रको लागि घातक छ र सबैभन्दा कुरूप बनेको छ’, उहाँले भन्नुभयो ।
