काठमाडाैं । नेकपा एमालेकी सांसद् ज्वालाकुमारी साहले सत्तापक्षले नै संसद्लाई अनिर्णयकाे बन्दी बनाउन खाेजेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै बाेल्दै सांसद् साहले सरकारले प्रतिपक्षलाई दाेष दिएर संसद् अवरुद्ध पार्ने वातावरण बनाएकाे बताउनुभयाे ।
उहाँले सुन तस्करी काण्डमा सरकारले सत्तापक्षका नेतालाई उम्काउन खाेजेकाे बताउनुभयाे । सांसद् साहले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई तत्काल छानबिनकाे दायरामा ल्याउन सरकारसँग माग गर्नुभयाे ।
आफू र आफ्ना नेतालाई उम्क्याउन सरकारले सुन काण्डकाे छानबिनकाे जिम्मा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई दिएकाे पनि उहाँले बताउनुभयाे ।
सुन तस्करी काण्डका दाेषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने आवाज उठाइरहेका नेपाली कांग्रेसका सांसद् सुनिल शर्मालाई पक्राउ गरेकाेमा सांसद् साहले आपत्ति जनाउनुभयाे । शर्मालाई कुन हिसाबले पक्राउ गरिएकाे भन्ने कुरा प्रष्ट पार्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'आज कुन हिसाबबाट समातिएकाे छ ? याे कानुनले पनि मिल्दैन, उहिले नै म्याद सकिएकाे प्रमाणपत्रलाई बखेडा झिकेर समातिएकाे छ यसमा घाेर आपत्ति गर्न चाहान्छु'- सांसद् साहले भन्नुभयाे ।
सरकारले देशलाई दुर्घटनातर्फ लगेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । देश बाढीपहिराेबाट आक्रान्त भएकाे, लम्पी स्किनबाट हजाराैं पशु संक्रमित भएकाे र मधेश प्रदेश पानी नपाएर तड्पिरहेका बेला सरकार रमिते बनेर बसेकाे सांसद् साहले बताउनुभयाे ।
सरकारकाे प्रतिनिधित्व गर्दै विदेश जान खाेज्ने तत्कालीन परराष्ट्र मन्त्री विमला राई पाैड्याललाई राेक्ने गठबन्धन सरकारले ललिता निवास काण्डमा छानबिनकाे दायरामा ल्याउन भनिएकाे व्यक्तिलाई विदेश पठाएकाे समेत उहाँले बताउनुभयाे ।
