काठमाडौं । नेपालको राजनीतिमा केही दिन यता नयाँ नयाँ खालका तमासा देखिएका छन् ।
संसदीय अभ्यासमा प्रतिपक्षी दल विरोधमा उत्रिनुलाई स्वाभाविक मानिन्छ । तर संघीय संसद्मा सत्तापक्ष नै विरोधमा उत्रिन लागेपछि को पक्ष को प्रतिपक्ष भन्ने छुट्याउनै मुस्किल पर्ने अवस्था आएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा प्रतिपक्षसँगै उठेर तमासा देखाएको सत्ता पक्षले प्रतिनिधि सभा बैठकमा पनि तमासा देखाएको छ । प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद् ज्वालाकुमारी साहलाई बोल्ने समय दिनुभएको थियो ।
सांसद साह बोल्न लागेपछि सत्ता पक्षका सांसदहरू समेत उठेर विरोधमा उत्रिएका थिए । उनीहरूले होहल्ला गरेर सांसद साहलाई बोल्न दिएनन् । साहलाई सत्ता पक्षले हो हल्ला गरेर बोल्न बाधा पुर्याए पछि सभामुखले बोलेको कुरा सुन्न र नियमको पालना गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो । उहाँले सभामुखको निर्देशन पालना गर्न सत्ता पक्षका सांसदलाई बारम्बार रुलिङ गर्नुभएको थियो ।
साहलाई बोल्न अवरोध गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरूले सभामुखको आसन अगाडि गएर नाराबाजी गरेका थिए ।
बैठक अगाडि बढ्न नसके पछि सभामुखले शुक्रबारको बैठकका निर्धारित कार्यसूचीमा रहेका सबै कार्यक्रम सूचीबाट हटाएको जानकारी दिनुभएको थियो । साउन २९ गते सोमबार दिनको १ बजे बस्ने गरी सभामुखले बैठक स्थगित गर्नुभएको छ ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदनका बैठक अवरुद्ध गर्दै आएको छ । उच्चस्तरीय समिति बनाउन सरकार तयार भएको छैन ।
