काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहले पक्राउ गर्नुपर्ने मान्छेलाई विदेश भगाएको र सुन तस्करीलाई कारबाही गर्न छानबिन समिति बनाउनु पर्ने माग गरेको कारण एक प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै साहले सत्ता पक्षले नै संसद्लाई अनिर्णयको बन्दी बनाउने काम गरेको बताउनुभयो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरी सरकारले दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै साहले आलोचना गर्नुभयो । उहाँले तुरुन्त छानबिन समिति बनाएर गृह मन्त्री र अर्थ मन्त्री माथि छानबिन गर्न आग्रह गर्नुभयो । आफू बच्ने दाउमा सीआईबीलाई मात्र जिम्मा दिन खोज्ने र आफू पन्छिन खोज्ने’, उहाँले भन्नुभयो ।
साहले सुन तस्करी प्रकरणमा गृह मन्त्री र अर्थ मन्त्रीको राजीनामा मागेकै कारण नेपाली कांंग्रेसका सांसद सुनिल शर्मालाई सरकारले सीआईबी लगाएर पक्राउ गरेको बताउनुभयो । अहिले म्याद सकिएको सर्टिफिकेट काण्डमा उहाँलाई समातेर सुन तस्करी घटनाका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने आवाजलाई रोक्ने प्रयास भएको भन्दै उहाँले विरोध जनाउनुभयो ।
गठबन्धनले जनमुखी शासन र दिगो शान्तिको नाममा देशलाई ठुलो दुर्घटनामा लैजान लागेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । मन्त्री हुँदा सरकारको तर्फबाट बैठकमा भाग लिन विदेश जान लाग्नुभएकी एमाले नेतृ विमला पाण्डेलाई विमानस्थलबाट फिर्ता ल्याउने सरकारले अदालतले ललित निवास प्रकरणमा छानबिन गर्न आदेश दिएका माधव नेपाललाई विदेश भगाउने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘ आज छानबिनको दायरामा ल्याउनु पर्ने व्यक्तिलाई विदेश भगाइएको छ’, उहाँले भन्नुभयो ।
माधव नेपाललाई विदेश जानबाट नरोकेर सरकारले गलत काममा प्रोत्साहन गरेको उहाँले बताउनुभयो । देश लम्पि स्किन, बाढी पहिरो, डेङ्गु, खडेरी लगायतका समस्यामा पर्दा पनि सरकारले त्यसमा कुनै ध्यान नदिएको साहले बताउनुभयो ।
