काठमाडाैं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले प्रतिशोध साँधेर कांग्रेस सांसद् सुनिल शर्मालाई पक्राउ गरेको बताउनुभएकाे छ ।
शुक्रबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भण्डारीले अदातलले सफाइ दिइसकेकाे मुद्दामा शर्मालाई पक्राउ गरेर सरकारले गलत गरेकाे बताउनुभयाे । नचाहिने विषयमा राज्यले प्रतिशोध साँध्न नहुने उहाँकाे भनाइ छ ।
देशका जल्दाबल्दा समस्यामा ध्यान नदिने र टुंगिसकेका विषयलाई उचाल्ने काम सरकारले गरेकाे सांसद् भण्डारीले बताउनुभयाे । 'सुनिल शर्मालाई थुन्नुपर्ने भन्ने छैन, याे अत्यन्तै गलत कुरा हो, जसको शक्ति उसको भक्ति गर्ने हो भने नेपालमा शक्ति भएकाले हतियार उठायो भने नेपालको अवस्था के हुन्छ ? यी कुरालाई पनि बुझ्नुपर्छ, मैले यसबारे प्रधानमन्त्री र सीआईबी चिफलाई भेटेर कुरा पनि गरेँ, नवराज सिलवालको पालामा अनुसन्धान भएको हो, सिलवाले यो विषय अगाडि बढाउनुपर्ने थिएन भन्ने स्टाटस लेख्नुभएकाे छ, देशमा यति धेरै लुटपाट, करप्सन छ, यसमा राज्यले समय खर्च गर्ने हो, नचाहिने कुरा प्रतिशोधमा राज्यले समय खेर फाल्ने होइन'- उहाँले भन्नुभयाे ।
शर्मालाई किन पक्राउ गरियो त ? भन्ने सञ्चारकर्मीकाे प्रश्नमा सांसद् भण्डारीले भन्नुभयाे - 'होला नि कसैलाई नपचेको ।' एउटै विषयमा कसैलाई उन्मुक्ति दिने र कसैलाई नदिने गरेर सरकारले विभेद गरेकाे समेत सांसद् उहाँले बताउनुभयाे ।
'कसैलाई जग्गा फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गर्दा उन्मुक्ति किन नपाउने ? सुनिल शर्मा को केसमा अदालतले सफाइ दिएको छ, थुन्नुपर्ने किन ? उहाँ भागेर विदेश जाने हुन र ? नेपाल छाेडेर जाने ठूलाठालुलाई उन्मुक्ति दिने, नेपालमै बस्ने, जतिबेला पनि पक्राउ गर्न सकिनेलाई दु:ख दिने किन ?'- उहाँकाे प्रश्न छ ।
