काठमाडौं । प्रतिनिधि सभा सदस्य सुनिल शर्माले सरकारले आफूलाई आतंककारीलाई जस्तो पक्राउ पुर्जी जारी नगरी पक्राउ गरेको भन्दै आलोचना गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले आफूलाई सीबीआईले बारम्बार झगडा गरेपछि मात्र पत्र दिएको बताउनुभयो । आफूलाई पक्राउ गरेर लैजाँदा बाटोमा हातपात गरिएको शर्माले संसदमा जानकारी दिनुभयो । आफूलाई हिरासतमा अपराधका घटनाका मानिसहरूसँग राखिएको दुर्व्यवहार गरिएको शर्माले बताउनुभयो ।
आफूलाई सरकारी वकिलको कार्यालयमा जाँदा पनि प्रहरीले हातपात गरेको शर्माले बताउनुभयो । सरकारी वकिलको डायरीमा आफू माथि हातपात भएको घटना दायर गराउन समेत संघर्ष गर्नुपरेको शर्माले जानकारी दिनुभयो ।
आफू लोकतन्त्रको लागि लडेर आएको र जनताबाट निर्वाचित सांसद् भएको शर्माले प्रष्ट पार्नुभयो । ‘मुलुकका सुन तस्करका नाइकेहरूको जब मैले राजिनमा मागेँ, त्यस पछि मलाई पक्राउ गरियो’, उहाँले भन्नुभयो ।
अहिलेको गृहमन्त्री र प्रधानमन्त्रीले आफूलाई अतंककारीले जस्तो व्यवहार गरेको उहाँले बताउनुभयो । गृह मन्त्रीले राजीनामा नदिए आफू प्रतिनिधि सभा भित्रै आमरण अनसन बस्ने उहाँले दोहोर्याउनुभयो । 'उहाँले बिना सर्त राजीनामा दिनुपर्छ', शर्माले भन्नुभयाे ।
प्रधानमन्त्री र गृह मन्त्रीकाे वेवहारले उहाँहरुले कसकाे प्रतिनिधित्व गर्दै हुनुहुन्छ भन्ने प्रश्न खडा भएकाे उहाँले बताउनुभयाे । ‘देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरुको सरकाराे नेतृत्व गरिराख्नुभएको छ किन डेमोक्रेटीकको नेतृत्व गरिराख्नुभएको छ ?' उहाँले प्रश्न गर्नुभयाे ।
