काठमाडौं । प्रतिनिधि सभा सदस्य मानवीर राईले सरकार स्वेच्छाचारी भएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै राईले सरकारले सबैको अधिकार खोस्ने काम गरेको बताउनुभयो । ‘यो सरकार आज सभामुख पनि आफैँ, न्यायाधीश पनि आफैँ, सबै चिज, यो मुलुकको बागडोर नै मै हुँ र म सरकार बाहेक अरू कसैको केही रहँदैन भन्ने ढङ्गले गइरहेको छ’, उहाँले भन्नुभयो ।
सुन प्रकरणले देश तातिरहेको उहाँले बताउनुभयो । नेपालको अन्तर्राष्ट्रिय विमानस्थल सुन ट्रान्जिटको रूपमा विकसित हुँदै गएको भन्दै उहाँले चिन्ता प्रकट गर्नुभयो । तर त्यो कुरा सरकारले नदेख्नु विडम्बनाको कुरा भएको राईले बताउनुभयो । ‘आज गृह मन्त्रीले देखिरहनुभएको छैन, आज प्रधानमन्त्रीले देखिरहनु भएको छैन’, उहाँले भन्नुभयो ।
विदेशबाट काम गरेर आउने नेपालीले ल्याएको एक तोलाको सिक्री खोस्ने राज्यले एक क्विन्टल माथि सुन ल्याउँदा पनि नदेख्नु विडम्बनापूर्ण अवस्था भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री, गृह मन्त्री र अर्थ मन्त्रीको दबाब र प्रभावका कारण सबै संयन्त्रलाई निष्क्रिय बनाएर सुन तस्करी गरिएको उहाँको भनाइ छ ।
तस्करसँग २ सय पटक भन्दा बढी कुरा गर्ने माओवादीका नेता कृष्णबहादुर महरा र उहाँका छोरा माथि किन छानबिन नगरिएको भन्दै उहाँले प्रश्न गर्नुभयो । त्यसैले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग यथावत् रहेको उहाँले प्रष्ट पार्नुभयो ।
