काठमाडाैं । नेकपा एमालेले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिकाे बैठक बहिष्कार गरेको छ ।
समितिको सभापति चयन प्रक्रिया अघि नबढेको भन्दै एमालेले बिहीबार बसेकाे लेखा समितिको बैठक बरिष्कार गरेकाे हाे । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमालेका सांसद् उपस्थित नभएका हुन् ।
यसअघिको बैठकमा एमालेका सांसद्ले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए । एमालेका सांसद्ले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर आजकाे बैठक स्थगित भएको छ ।
समितिको अध्यक्षता गर्दै आउनुभएका समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद् अर्जुननरसिंह केसीले विभिन्न कारण देखाई समितिहरुलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्य मान्यता विपरित भएको बताउनुभयो । उहाँले यस विषयमा सभामुख देवराज घिमिरेले पहलकदमी भूमिका प्रस्तुत गर्नुपर्ने बताउनुभयाे । ज्येष्ठ सदस्य केसीले ३ दलसँग मात्रै नभई संसद्मा भएका दलहरुसँग सभामुखले छलफल गर्नुपर्ने बताउनुभयो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व चयन र सदन अवरुद्ध गर्दा पनि सभामुखले आफूहरुसँग छलफल नगरेको गुनासो गर्नुभयो ।
एमाले सांसद् अच्युत प्रसाद मैनालीले संसदीय समितिलाई प्रभावकारी रुपमा अघि बढाउनका लागि सभापति चयन गर्नुपर्ने बताउनुभयो । समितिमा महत्वपूर्ण छलफल गर्नुपर्ने र यसका लागि नेतृत्व निर्माण गर्नुपर्नेमा एमालेले पटक पटक जाेड गरेपनि ढिलो हुँदै गएकाले समितिकाे बैठक बहिष्कार गर्नुपरेको बताउनुभयाे । समितिको नेतृत्व चयन नभएसम्म एमाले लेखा समितिमा सहभागी नहुने पूर्ववत अडान यथावत नै रहेको सांसद् मैनालीले प्रष्ट बताउनुभयो ।
