काठमाडाैं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लम्पी स्किन रोगबाट मृत्यु भएका पशु चौपायाको क्षतिपूर्ति स्वरुप दिइने राहत तत्काल कृषकलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिकाे बैठकले कृषकको क्षति अनुसार प्राथमिकताका आधारमा तत्काल कार्यविधि तथा मापदण्ड स्वीकृत गरी राहत उपलब्ध गराउन र यसका लागि आवश्यक बजेट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
लम्पी स्किन रोगको दीर्घकालीन रुपमा पूर्ण नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने भ्याक्सिन स्वदेशमा नै उत्पादन गरी सबै किसानलाई सर्वसुलभ र सुपथ मूल्यमा प्राप्त गर्ने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । बैठकले लम्पी स्किन जस्ता संक्रामक रोगबाट सिर्जना हुने संकटको अवस्थामा तीन तहको सरकारबीच समन्वय गर्नका लागि अधिकार प्राप्त समन्वयकारी निकायको गठन गरी कार्यसम्पादन गर्न पनि सकारलाई निर्देशन दिएको छ ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगबाट १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित भएको जानकारी दिनुभयो । १० लाख ८२ हजार १ सय ५९ पशु उपचारपश्चात् निको भएको र ४७ हजार ६ सय ४९ वटा पशु रोगका कारण मृत्यु भएको उहाँले बताउनुभयो ।
सचेतना बढाउने कामका साथै उपचारको व्यवस्था गरेका कारण संक्रमण क्रमश कम हुँदै गएको दाबी गर्नुभयो । विभिन्न मुलुकबाट हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात गरेको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकेको उहाँले बताउनुभयो । उहाँले क्षतिमा पूर्णरुपमा क्षतिपूर्ति दिन नसकेपछि राहत दिनुपर्ने जोड रहेको जिकिर गर्नुभयो ।
बैठकमा समिति सदस्यहरुले नेपालमा लम्पी स्किन रोगको महामारी फैलिनुको कारणबारे अध्ययन अनुसन्धान गर्नुपर्ने बताएका थिए । समिति बैठकले पशु चौपायामा लाग्ने लम्पी स्किन लगायत सरुवा रोग लागेका पशुहरुको मासु दूध खान नहुने विषयमा जनमानसमा सुसूचित गराई मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न नदिन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
