काठमाडाैं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधा कार्यान्वयनका लागि सबै दलहरु गम्भीर हुनुपर्ने बताउनुभएकाे छ ।
संघीय संसद् सचिवालयले शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको 'संसद् र सञ्चार सम्बन्ध' विषय अन्तक्रियामा बोल्दै उपनेता नेम्वाङले जनताले जनताका लागि बनाएको संविधानकाे सफल कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्ने बताउनुभयाे ।
संविधानले अवरोध गर्ने कुरालाई अनुमति नदिएको र नियमले पनि अवरोधको कल्पना नगरेकाे भन्दै उहाँले संसद् अवराेध नियमसंगत नभएकाे बताउनुभयाे । मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसंगत नभएको उपनेता नेम्वाङले बताउनुभयाे । नियमसंगत नहुँदा राजनीतिक रुपमा गरिने अवरोधको औचित्य पुष्टि गर्ने जिम्मेवारी सम्बन्धित दलको भएको उहाँले बताउनुभयो । बहुमत नभएका दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको उपनेता नेम्वाङले बताउनुभयाे ।
पछिल्लाे समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार पास भएर बाहिर बरामद गरिएको सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुन नसक्दा संघीय संसद्का दुवै सदनकाे बैठक प्रभावित छ । साे कुरालाई लक्षित गरी उपनेता नेम्वाङले संसद् अवराेध संविधानसम्मत नभएकाे बताउनुभयाे ।
