काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।
सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ
सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफरे गर्नुहुनेछ । उहाँले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन हुनुभएको जानकारी गराउनुहुनेछ ।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (१) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य डा. सुनिल कुमार शर्मा पक्राउ पर्नुभएको र थुनामुक्त भएको जानकारी गराउनुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्नुहुनेछ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयक, २०८०' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयाेस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिको लागि पेस गर्नुहुने कार्यसूची समेत छ ।
सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अडान र त्यस्ताे समिति नचाहिने सत्ता पक्षकाे अडानका कारण केही दिन यता संघीय संसद्का दुवै सदनकाे बैठक प्रभावित भइरहेकाे छ ।
