काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएकाे छ ।
संसद्काे अवराेध खुलाउनका लागि सभामुख घिमिरेले आइतबार सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएकाे हाे ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएकाे छलफलमा सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक आ-आफ्नाे अडानमा कायमै रहेपछि बैठक बिना निष्कर्ष सकिएकाे देखिएका सभामुखकाे सचिवालयले जनाएकाे छ ।
बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक परियारले सत्ता र प्रतिपक्ष आ-आफ्नै अडानमा रहेकाे बताउनुभयाे । अहिलेकाे अवस्था हेर्दा तत्काल संसद् खुल्नेमा आशंका रहेकाे समेत उहाँले बताउनुभयाे ।
बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे तथा प्रतिपक्षी दलबाट नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक परियार लगायतकाे सहभागिता थियाे ।
बैठकमा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी हुनुभएकाे थियाे । प्रतिनिधि सभा बैठक आज दिउँसाेका लागि बाेलाइएकाे छ । त्यसअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएकाे हाे ।
आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त दलसँग सदन अवराेध हटाउने विषयमा छलफल गर्दै हुनुहुन्छ ।
