काठमाडौं । आज दिउँसाे १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएकाे छ ।
दिउँसाे १ बजे बस्ने तय भएकाे बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे हाे ।
सदनकाे अवराेध हटाउने विषयमा आइतबार बसेकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताकाे बैठक निष्कर्षबिहीन भएपछि प्रतिनिधि सभा बैठक सारिएकाे हाे । बैठक भाेलि बस्ने र साे बैठकमा सहमति हुने नेताहरुकाे भनाइ छ ।
यसअघि आज नै सदनकाे गतिराेध हटाउने विषयमा सभामुख देवराज घिमिरेले दलका सचेतकहरु छलफल गर्नुभएकाे थियाे । साे बैठक पनि बिना निष्कर्ष सकिएकाे थियाे ।
सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति बनाउनुपर्ने विषयलाई लिएर केही दिन यता संघीय संसद्का दुवै सदनकाे बैठक प्रभावित भइरहेकाे छ । प्रमुख प्रतिपक्षी एमालेले साे काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएकाे छ । तर सत्तापक्षले त्यस्ताे समिति आवश्यक नरहेकाे बताउँदै आएकाे छ । साे विषयमा सहमति नजुट्दा सदन प्रभावित भइरहेकाे छ ।
