काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति अपरिहार्य रहेकाे बताउनुभएकाे छ ।
आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीका जिज्ञासाकाे जवाफ दिँदै प्रमुख सचेतक गिरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी उच्चस्तरीय समिति बनाउनुपर्ने बताउनुभयाे ।
बैठकमा आफूहरुले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत राखेकाे उहाँले जानकारी दिनुभयाे । 'सीआईबीले छानविन गरोस्, तर उच्चस्तरीय छानबिन समिति यस्तो हुन्छ की सीआईबीले गरेको छानबिनमा कहीँ कमिहरु छन् भने ओभरसाईड पनि गर्ने र समग्र तस्करी भइरहेको छ यसका नितिगत समस्याहरु कहाँ छन् ? संरचनागत सुधारहरु कहाँ कहाँ गर्नुपर्नेछ ? समग्रमा यसको अध्ययन अनुसन्धान गरेर सरकारलाई एउटा प्रतिवेदन बुझाउने र भविष्यमा नेपालमा तस्करी हुने कुराको अन्त्य गर्नुपर्छ भन्ने हिसावले हामिले यो माग गरेका हौं'- गिरीले भन्नुभयाे ।
नक्कली भुटानी शरणार्थी काण्डमा सरकारले एकातिर दोस्रो चरणको छानबिन गर्ने र फाइल खोल्छु भन्ने अनि अर्काेतिर प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको उहाँले बताउनुभयाे ।
सुन तस्करी काण्डमा राजनीतिक व्यक्ति पनि सहभागी छन् भन्ने कुरा सार्वजनिक भइरहेकाे तर सीआईबीले तिनीहरुलाई छानबिनको दायरामा नल्याएकाे प्रमुख सचेतक गिरीले बताउनुभयाे । 'सरकारले ती व्यक्तिलाई छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन, क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भीर विषय हो, त्यसैले उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ'- उहाँले भन्नुभयाे ।
