काठमाडाैं । सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएकाे छ ।
आइतबार सिंहदरबारमा बसेकाे संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइका लागि सोमबार बिहान बोलाउने निर्णय गरेको हो ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजकाे बैठकको सुरुमै उजुरीकर्तासँग छलफल गरिनेछ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सुरु गरिनेछ ।
उहाँविरुद्ध तीन वटा उजुरी परेका छन् । साउन २३ गते बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । समितिले तोकेको १० दिनको अवधिमा ३ वटा उजुरी परेको छ ।
संसदीय सुनुवाइका क्रममा उहाँले आफ्नो योग्यता, अनुभव, कार्ययोजना र अवधारणा प्रस्तुत गर्नुहुनेछ । संसदीय समितिले सबै विषयवस्तुबारे जानकारी लिएपछि श्रेष्ठको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्नेछ ।
संसदीय समितिबाट नाम अनुमाेदन भएपछि श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पाैडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नुहुनेछ । साउन १८ गते बसेको संवैधानिक परिषद्काे बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण साउन २० गते अवकाश पाएपछि श्रेष्ठले अहिले कायमुकायम प्रधानन्यायाधीशकाे जिम्मेवारी सम्हालिरहनुभएकाे छ ।
