काठमाडाैं । नेपाली कांग्रेस काेशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले काेशी प्रदेशमा असहज परिस्थिति निर्माण हुनुमा सबै दल जिम्मेवार रहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले पेस गर्नुभएकाे विश्वासकाे मत माग्ने प्रस्तावमाथि बाेल्दै उपनेता कार्कीले एकले अर्कालाई दाेष दिने पक्षमा आफू नरहेकाे बताउनुभयाे । 'आज नयाँ ढंगबाट आज प्रदेश सभा सञ्चालन भइरहेकाे छ, याे सभा जुन ढंगबाट सञ्चालन गर्नुपर्ने परिस्थितिकाे निर्माण भयाे, म कुनै एक दललाई मात्रै दाेष दिन्न चाहान्न, जुन ढंगकाे परिस्थिति निर्माण गर्न वाध्य भइयाे, त्यसका निम्ति हामी सबै दलले आआफ्नाे ठाउँबाट घटीबढी जिम्मेवारी बहन गर्नुपर्छ'-उहाँले भन्नुभयाे ।
काेशीमा संघीयतालाई कमजाेर बनाउने प्रयास भइरहेकाे कार्कीले बताउनुभयाे । सरकार गठन र विघटनकाे खेलमा रहेपनि संविधानले गरेकाे व्यवस्थाअनुसार नै अगाडि बढेकाे उहाँले बताउनुभयाे । काेशीकाे समृद्धिका लागि, विकासका निम्ति, संघीयताकाे सही कार्यान्वयनका लागि काेशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलमा एकता र सहमतिकाे खाँचाे रहेकाे भन्दै सांसद् कार्कीले त्यसका निम्ति मुख्यमन्त्रीलाई विश्वासकाे मत दिन आग्रह गर्नुभयाे ।
काेशीकाे विकास र काेशीका समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष हातेमालाे गरेर अगाडि बढ्न जरुरी रहेकाे उहाँले बताउनुभयाे । कांग्रेस सहमतिकाे सरकारका लागि तयार रहेकाे समेत उहाँले बताउनुभयाे ।
आफैंले ढाकेकाे बैठकमा उपसभामुख अनुपस्थित नहुनुले संसदीय इतिहासमा नयाँ र गलत नजिर स्थापना गर्ने चिन्ता व्यक्त गर्दै सांसद् कार्कीले यसमा दाेषी सबैले म म भन्नुपर्ने बताउनुभयाे ।
कांग्रेस प्रस्तावकाे पक्षमा रहेकाे भन्दै उहाँले मुख्यमन्त्री थापालाई विश्वासकाे मत दिन प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्ष राप्रपालाई आग्रह गर्नुभयाे ।
