काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्न लागेकाे हाे । केही दिनदेखि अवरुद्ध सदन आज खुल्ने अपेक्षा गरिएकाे छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा साेमबार बसेकाे सर्वदलीय बैठकमा एमालेकाे माग अनुसार सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तापक्ष तयार भएकाे थियाे । बैठकले समितिकाे कार्यविधि तय गर्न ३ सदस्यीय कार्यदल पनि गठन गरेकाे थियाे । साे कार्यदलले आज बिहानसम्म कार्यविधि बनाउने र सदनकाे बैठकअघि शीर्ष नेताले त्यसलाई अन्तिम रुप दिने सहमति भएकाे थियाे । त्यसकारण आज सदनकाे अवराेध हट्ने सम्भावना छ ।
प्रतिनिधि सभाकाे आजकाे बैठकका लागि पुरानै कार्यसूची राखिएकाे छ । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउनुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
यस्तै राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण, मन्त्रिपरिषद्काे गठन र मन्त्रिपरिषद् सदस्यकाे कार्यभार ताेकिएकाे सम्बन्धी पत्रकाे ब्यहाेरा पढेर सुनाउनुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरुकाे कार्यभार ताेकिएकाे सम्बन्धी पत्रहरुकाे ब्यहाेरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले ‘संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
