काठमाडाैं । प्रमुख प्रतिपक्ष नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तापक्षले नै सदन अवरुद्ध गरेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै नेता दाहालले प्रतिपक्षले नभएर सत्तापक्षले नै सदन अवरुद्ध गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे -'करिब एक महिना भयाे सदन अवरुद्ध छ, सदन सत्तापक्षले नै अवरुद्ध गरेकाे छ, किनकी उच्चस्तरीय छानबिन समिति बनाउन सत्तापक्षले ढिला गरेकाे छ, समिति लगभग बन्दैछ भन्ने सुनिएकाे छ, बनिसकेकाे छैन, त्यसैले आजकाे बैठक के हुन्छ भनेर भन्न सकिँदैन ।'
सरकार र सत्तापक्षले समयमा काम नगर्ने अनि प्रतिपक्षतिर फर्केर सत्ताेसराप गर्ने काम भइरहेकाे भन्दै नेता दाहालले त्यस्ताे गलत अभ्यास अन्त्य हुनुपर्ने बताउनुभयाे ।
सदनमा जनताका आवाज उठाउनुपर्छ भनेर राष्ट्रिय सभामा नयाँ अभ्यास थाल्न आफूहरु तयार रहेकाे र जनताका विषयमा सबै दलले बाेल्नुपर्छ भनेर त्याे अभ्यास थालिएकाे उहाँले बताउनुभयाे । तर एकाधबाहेक सत्तापक्षका सांसद्ले जनताका विषय बाेल्दै नबाेलेकाे र प्रतिपक्षलाई सत्ताेसराप गरिरेहकाे समेत नेता दाहालले बताउनुभयाे ।
उहाँले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेकाे अडान भने कायमै रहेकाे बताउनुभयाे । त्यस्ताे समिति नबने आफूहरुकाे विराेध जारी नै रहने समेत नेता दाहालले बताउनुभयाे ।
भारतीय विवादास्पद व्यक्ति कथित धर्मगुरु बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबाले नेपालमा आएर नेपालकाे राष्ट्रियतामाथि धावा बाेल्ने काम गरेका भन्दै उहाँले आपत्ति जनाउनुभयाे । ती कथित व्यक्तिले नेपाल भारतकाे अभिन्न अंग हाे भनेर नेपालकाे राष्ट्रियतामाथि धावा बाेलेका नेता दाहालले बताउनुभयाे । जनता ठग्ने र नेपालकाे राष्ट्रियतामाथि धावा बाेल्ने ती बाबालाई कुन हैसियतमा पशुपतिनाथ मन्दिरमा स्वागत गरियाे भन्दै प्रश्न गर्नुभयाे ।
ती बाबाले नेपालमा बाेलेका-गरेका गतिविधिबारे सदनलाई जानकारी दिन समेत उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । भारतमा मुद्दा लागेका ठग व्यक्तिलाई नेपालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले समेत भेटेकाेमा समेत नेता दाहालले आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'यस्ता जनता ठग्ने, नेपालकाे राष्ट्रियता, सार्वभाैमिकता, स्वतन्त्रता र अस्मितामाथि धावा बाेल्ने, नेपाल विराेधी पण्डालाई देश निकाला गर्नुपर्नेमा, हाम्राे देशका गृहमन्त्री र परराष्ट्रमन्त्री समेत लाइन लागेर काठमाडाैंमा भेट्न गएकाे भन्ने खबर आएकाे छ, यस्काे वास्तविकता के हाे ? स्वयम् गृहमन्त्री, परराष्ट्रमन्त्री र सरकारले यसकाे जवाफ दिनुपर्छ, यी ठग व्यक्ति भारतमा मुद्दा लागेका व्यक्ति हुन्, यिनले नेपालमा आएर विभिन्न हर्कत गरिरहेका छन्, नवलपरासीका जनतालाई ठगिरहेका छन् ।'
उहाँले डेंगु नियन्त्रण गर्न र लम्पी स्किन प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारकाे ध्यानाकर्षण समेत गराउनुभयाे । आँखा पाक्ने राेग, बाढीपहिराे नियन्त्रणमा पनि उचित कदम चाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
