काठमाडौं । राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी काण्डको छानबिनका लागि पनि उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् देवकाेटाले नक्कली भुटानी शरणार्थी काण्डको छानबिनका लागि पनि समिति बनाउन माग गर्नुभयाे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुनु राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै लज्जाकाे विषय भएकाे भन्दै उहाँले साे काण्डकाे छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति दलहरुबीच भएकाे बताउनुभयाे ।
सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिनबारे सरकार र दलहरू किन चुपचाप ? रहेको भन्दै सांसद् देवकाेटाले प्रश्न गर्नुभयाे । 'सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय नक्कली भुटानी शरणार्थीसम्बन्धी विषय हाे, तर यसमा दलहरु किन बाेल्दैनन् ? किन चुपचाप छन् ? यसकाे पनि छानबिन समिति बनाइयाेस्'- उहाँले भन्नुभयाे ।
बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिककाे संयाेजकत्वमा संसद् भन्दा बाहिरकाे व्यक्ति राखेर बनाइएकाे छानबिन समिति भन्दा सार्वभाैमसम्पन्न संसद्काे समिति बनाउँदा विश्वासयोग्य र भरोसायोग्य हुने समेत सांसद् देवकाेटाले बताउनुभयाे ।
