काठमाडाैं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पाैड्यालले कामना पत्रिकालाई तत्काल कारबाही गर्न माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै सांसद् पाैड्यालले कामना पत्रिकाले गाईजात्रालाई महिलाकाे प्रजनन क्षमतामा प्रहार गर्ने अवसरका रुपमा लिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अहिले बजारमा कामना भन्ने चलचित्र तथा कला सम्बन्धी मासिक पत्रिका आएकाे छ, यसले गाईजात्राकाे उपयाेगचाहिँ महिलाकाे प्रजनन क्षमतामा प्रहार गर्ने अवसरका रुपमा लिएकाे छ, यसमा अहिलेका प्रधानमन्त्री र २ जना पूर्व प्रधानमन्त्रीलाई महिलाकाे भेषमा देखाएर उनीहरुकाे पेटलाई प्रधानमन्त्री जन्माउने पाठेघरका रुपमा प्रस्तुत गरिएकाे छ, याे एकदमै दु:खदायी र साह्रै घृणात्मक कदम हाे, किनभने महिलाकाे प्रजनन क्षमता नै प्रयाेग गरेर कार्टुनिष्ट र प्रकाशक महाेदय याे संसारमा आउनुभएकाे हाे, जुन प्रक्रिया पूरा गरेर याे संसारमा हुनुहुन्छ त्यसैलाई मजाककाे रुपमा प्रस्तुत गर्नुभएकाे छ, जुन असाध्यै घृणात्मक छ ।'
आमाकाे प्रजनन क्षमतालाई व्यंग्यवाणकाे रुपमा प्रस्तुत गर्ने कामना पत्रिकालाई कारबाही गर्न सांसद् पाैड्यालले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माकाे ध्यानाकर्षण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'आमाकाे प्रजनन क्षमतालाई व्यंग्यवाणकाे रुपमा प्रस्तुत गर्ने, राजनीतिक निर्णयकर्ता सबै पुरुष तर उनीहरुलाई व्यंग्य गर्ने माध्यम महिला बनाउने कार्यकाे म निन्दा गर्दछु, सञ्चारमन्त्री रेखा शर्माकाे ध्यानाकर्षण गराउँछु - कामना प्रकाशनलाई कारबाही गरियाेस्,छापिएकाे पत्रिकालाई बिक्री वितरण हुनबाट राेकियाेस् र यसकाे डिजिटल प्रतिलाई पनि इन्टरनेटकाे स्पेसबाट तुरुन्तै हटाइयाेस् ।'
गाईजात्राकाे अवसर पारेर राजनीति र सामाजिक सवालमा व्यंग्यात्मक टिप्पणी गर्ने परम्परा धेरै अगाडि देखिकै भएकाे सांसद् पाैड्यालले बताउनुभयाे । 'पहिले वाक स्वतन्त्रता नभएका बेलामा गाईजात्राकाे अवसर थियाे यस्ता टिप्पणी गर्नका लागि, अहिले हामीसँग पूर्ण वाक स्वतन्त्रता छ, राजनीतिक व्यंग्यवाण गर्नका लागि गाईजात्रा पर्खिनुपर्ने आवश्यकता छैन'- उहाँले भन्नुभयाे ।
