काठमाडाैं । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्ने दाबी गर्नुभएकाे छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक चाैधरीले एमाले अध्यक्ष ओली यही वर्ष पक्राउ पर्ने ठाेकुवा गर्नुभयाे । सुन लगायत काण्डमा नाम जाेडिएकाले ओली पक्राउ पर्ने चाैधरीकाे ठाेकुवा छ ।
ओली पक्राउ पर्ने डरले एमालेले सदन अवरुद्ध गरेकाे गम्भीर आराेप पनि उहाँले लगाउनुभयाे । 'मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम जोडीइसकेको छ, याे लगायत जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्, हामीले गृहमन्त्रीलाई किन ओली पक्राउ परेका छैनन् ? भनेर सोधिरहेका छौँ, केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छन्, यही वर्षमा ओलीलाई समात्छ, मैले जे बोल्छु त्यो हुन्छ, त्यही अनुसार राजनीतिक कोर्ष पनि अघि बढ्छ'- मेटमणिकाे दाबी छ ।
