काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका जापान-नेपाल संसदीय मैत्री समूहका सदस्यबीच भेटवार्ता भएकाे छ ।
उहाँहरुबीच राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाकाे कार्यकक्ष सिंहदरबारमा बुधबार भेटवार्ता भएकाे हाे । अध्यक्ष तिमिल्सिनालाई भेटन् जापानको माथिल्लो सदनका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबु सिंहदरबार पुग्नुभएकाे थियाे ।
भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुवै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउनुभयाे । उहाँले नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास तथा सुदृढीकरणमा जापान सरकारले निरन्तर पुयाउँदै आएको सहयोगका लागि धन्यवाद दिनुभयाे । नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको समेत उहाँले बताउनुभयाे ।
नेपालको सामाजिक-आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायत महत्वपूर्ण क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत देशमध्ये जापान एक भएको भन्दै उहाँले नेपालको विकास प्राथमिकतताका क्षेत्रहरुमा आगामी वर्षमा जापानी लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयाे । अन्तर व्यवस्थापिका संघ लगायत संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएका भन्दं अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल-जापान संसदीय मैत्री समूह छिट्टै गठन हुने जानकारी गराउनुभयो ।
भेटमा जापान-नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । नेपाल पनि जापानमा हुने 'वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान' मा सहभागी हुन लागेकोमा खुही व्यक्त गर्दै उहाँहरुले त्यसले नेपालको पर्यटन, व्यापार लगायत क्षेत्रमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल-जापान संसदीय मैत्री समूह छिटै गठन हुने अपेक्षा राख्दै उहाँहरुले मैत्री समूहमार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गरिने बताउनुभयाे ।
