काठमाडाैं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद्ले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेका छन् ।
संविधान र कानुनको धज्जी उडाएर मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिने सभामुख (इस्राइल मन्सुरी) को अध्यक्षतामा सभा सञ्चालन हुन नसक्ने भन्दै एमाले र राप्रपाका सांसद्ले बैठक बहिष्कार गरेका हुन् ।
आजकाे बैठकको अध्यक्षता पनि अध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद् इस्राइल मन्सुरीले गर्नुभएकाे थियाे । उहाँले बैठकको कारबाही सुरु गर्नासाथ एमाले र राप्रपाका सांसद्ले उठेर विरोध जनाए ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभाध्यक्षबाट गैरसंसदीय कार्य भएको भन्दै आपत्ति जनाउनुभयाे । संसदीय अभ्यासमा कहीँ नभएको घटना कोशी प्रदेश सभाभित्र भएकाे भन्दै उहाँले गैरप्रजातान्त्रिक, गैरसंवैधानिक र गैरसंसदीय पक्रियाकाे विराेध गर्दै रापप्राले बैठक बहिष्कार गरेकाे घाेषणा गर्नुभयाे ।
सिटाैलाले बाेलेलगत्तै एमालेका सांसद् तिलकुमार मेन्याङ्बोले बाेल्नुभयाे । सभामुखबाट नेपालकाे संविधानकाे ठाडाे उल्लंघन भएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सांसद् मेन्याङ्बाेले भन्नुभयाे - 'संविधानको धारा १८६ ले सभामुखको अधिकार स्पष्ट गरिएपनि मतदान गरिएको छ, सभामुख महोदय म तपाइँलाई सोध्न चाहन्छु त्यस दिन के मत बराबरी भएको थियो र तपाइँले मतदान गर्नुभयो ? नेपालकाे संविधानकाे ठाडाे उल्लंघन भएकाे छ, तपाइँको कुर्सीबाट संविधान उल्लंघन गर्न पाइँदैन, तपाइँकाे कुर्सी संविधानकाे संरक्षण गर्ने कुर्सी हाे, तर तपाइँले मतदान गरेर असंवैधानिक कार्य गर्नु भएको छ ।'
संविधानविपरित मतदान गर्ने सभामुखबाटै बैठकको अध्यक्षता भएको र फेरी गैरसंवैधानिक काम हुन सक्ने भन्दै उहाँले भदाै ४ गते भएकाे असंवैधानिक कामकाे विरुद्धमा एमालेले बैठक बहिष्कार गर्ने घाेषणा गर्ने गर्नुभयाे ।
सभाध्यक्ष मन्सुरीले एमाले र राप्रपाका सांसद्हरुलाई बस्न आग्रह गर्नुभयाे । तर असंवैधानिक कदम मुर्दावाद भन्दै एमाले र राप्रपाका सांसद्हररु प्रदेश सभा बैठक स्थलबाट बाहिरिए । त्यसपछि सभाध्यक्ष मन्सुरीले बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
बुधबारको प्रदेश सभा बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची थियो ।
भदाै ४ गते बसेकाे प्रदेश सभा बैठकमा मन्सुरीले मत बराबर नभएकाे अवस्थामा पनि मुख्यमन्त्री थापाकाे पक्षमा मतदान गर्नुभएकाे थियाे ।
