काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेले देशको आर्थिक अवस्था अत्यन्त कमजोर भएको भदै चिन्ता व्यक्त गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै आर्थिक अवस्थामा देश टाट पल्टिन लागेको भए पनि सरकारको ध्यान त्यता नगएको भन्दै आलोचना गर्नुभयो । सदनमा इकोनोमिकका कुरा हुनु पर्नेमा इमोसनल कुरा हुने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘हामी पुलिसको सरुवा बढुवामा आँखा लगाएर बसेका छौँ’, उहाँले भन्नुभयो ।
सरकारले सुशासनको कुरा गरेको भए पनि व्यवहारमा त्यसो नभएको उहाँले बताउनुभयो । आफन्त र आफ्ना पार्टीका नेताहरू तर्फ अनुसन्धानको काम अघि बढ्ने बित्तिकै सरकारले अनुसन्धानको काम रोकेको उहाँको भनाइ छ । अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई सरुवा गरेर सरकारले आफ्नो रूप देखाएको उहाँले टिप्पणी गर्नुभयो ।
सरकारले अनुसन्धान आफ्नो ढोकासम्म नआउँदा मात्र सुशासनको कुरा गर्ने गरेको उहाँले बताउनुभयो । बालुवाटारको जग्गा प्रकरणमा संलग्न नेताहरूलाई सरकारले सुन पानी छर्किएर चोख्याएको उहाँको भनाइ छ । सुशासनको प्रत्याभूति दिने सरकारले गौँडा गौडामा आफ्ना मान्छे नियुक्त गरेको उहाँले बताउनुभयो । बाबुहरूको राजनीतिको योगदानको फाइदा उठाएर नेताका छोराहरू नवयुवराजको रूपमा उदाएको उहाँको टिप्पणी छ ।
