काठमाडाैं । नेकपा एमालेका सचिव एवं सांसद् याेगेश भट्टराईले ललिता निवास र सुन तस्करी काण्डमा सरकारले सीआइबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् भट्टराईले राज्यका सबै निकायप्रति एमालेले विश्वास गरेपनि यी काण्डमा सरकारले सीआईबीलाई स्वतन्त्र छानबिन गर्न नदिएकै कारण आफूहरुले उच्चस्तरीय छानबिन समिति माग गरेकाे बताउनुभयाे ।
सुन तस्करी काण्डकाे अनुसन्धानका लागि जाँचबुझ आयाेग गठन गर्ने सहमति स्वागतयाेग्य भएकाे उहाँले बताउनुभयाे । राज्यका कुनै निकायप्रति एमालेले अविश्वास नगर्ने तर ती निकायलाई स्वतन्त्र रुपमा काम गर्न नदिइएकाे आशंका लागेपछि आफूहरुले उच्चस्तरीय छानबिन समिति गठनकाे माग गरेकाे सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे ।
सरकार र सत्तापक्षले समयमै आफूहरुकाे माग सम्बाेधन नगरेकै कारण सदन प्रभावित भएकाे भन्दै उहाँले ढिलाेचाँडाे आयाेग गठन गर्ने सहमति हुनु सकारात्मक रहेकाे बताउनुभयाे । सुन लगायत अरु तमाम घटनामा उच्चपदस्थ जाे-जाे संलग्न छन् उनीहरुलाई कारबाही गर्नुपर्छ भनेर एमालेले आवाज उठाउँदा सीआईबी र एमालेकाेबीचमा अविश्वास पैदा गर्ने काेशिस भएकाे भन्दै सांसद् भट्टराईले खेल प्रकट गर्नुभयाे ।
एमालेलाई सीआईबी लगायत राज्यका निकायमाथि विश्वास भएकाे तर सत्तापक्षका ठूला नेता समातिने डरले सरकारले सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न नदिएकाे आशंकामा आयाेग गठनकाे माग गरिएकाे उहाँले प्रष्ट पार्नुभयाे । भट्टराईले भन्नुभयाे - 'एमालेले राज्यका कुनै निकायप्रति अविश्वास गर्दैन, प्रत्येक निकायप्रति विश्वास गर्छ, तर हामीलाई चिसाे पस्याे, अलिकति झस्कियाैं, सीआईबीको गाडी अनुसन्धानकाे ठिक दिशामा गइरहेको हुन्छ, तर गाडी मोडिन्छ अर्थात यूटर्न हुन्छ, तलिता निवासमा सीआईबीकाे गाडी ठिक ठाउँमा गइरहेकाे हुन्छ, जब ठूलाहरुलाई समात्नुपर्ने हुन्छ गाडी माेडिन्छ हामीलाई झस्का पस्याे, इलेक्ट्रिक सिगरेटकाबारेमा हामी हेरीराखेका थियाैं सीआईबीले ठिकै छानबिन गर्ला, तर केही उच्चपदस्थ नेताहरुकाे नाम आयाे, सीआईबीकाे गाडीमा ब्रेक लाग्याे र माेडियाे, हामीलाई झस्का पस्याे, भुटानी शरणार्थी केसमा निर्भिकतासाथ छानबिन गर्ने नेपाल प्रहरीका अधिकृतहरु अचानक सरुवा भए, सुन काण्डमा पनि त्यस्तै त्यस्तै भयाे, अनि हामीले भन्याैं - सीआईबीलाई स्वतन्त्रतापूर्वक छानबिन गर्न दिइएकाे छैन, उसप्रति अविश्वास गरेकाे हाेइन, अदालत र अख्तियारप्रति हामीलाई अगाध स्नेह र विश्वास छ, यी सबै हामीले बनाएका संस्था हुन्, तर राजनीतिक दबाबका कारण यी संस्थालाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएकाे छैन, सत्तापक्षका ठूलै नेताले अवराेध सृजना गरेका समाचार आए, अनि हामी टुंगाेमा पुग्याैं र भन्याै स्वतन्त्र आयाेग किन नबनाउने ?'
एमालेले भने अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुंगाेमा पुगेर जाँचबुझ आयाेग बनाउन सहमत भएकाे सांसद् भट्टराईले बताउनुभयाे । 'हामीले साउन १० गते यही भनेका थियाैं नि, यही कुरा साउन १० गते भएकाे भए यसले यति समय लिने थिएन, तर आज जे परिस्थितिकासाथ याे टुंगाेमा पुगेकाे छ म पार्टीकाे तर्फबाट स्वागत गर्न चाहान्छु'- उहाँले भन्नुभयाे ।
एमालेले संसद्काे सधैं सम्मान गर्ने र एमालेलाई संसद् चाहिने पनि सांसद् भट्टराईले प्रष्ट पार्नुभयाे ।
