काठमाडौं । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले पोखरामा उखेलिएको पृथ्वीनारायण शाहको सालिक जस्ताको तस्तै अवस्थामा राख्न माग गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले देश बन्ने भनेको इतिहास मेटाएर होइन रक्षा गरेर हुने शाहीले बताउनुभयो । नेपाल भन्ने देश पृथ्वीनारायण शाहको दिव्योपदेशले बनेको उहाँले दाबी गर्नुभयो ।
ललिता निवास जग्गा प्रकरणमा कसैलाई दुःख दिने नियतले समातिँदा कतिपय दोषीलाई उन्मुक्ति दिएको भन्दै उहाँले आलोचना गर्नुभयो । सो जग्गा प्रकरणमा ठुला भनाउँदा नेताहरूलाई घरमा नै गएर सीआईबी म्याउँ गरेर आएको उहाँले बताउनुभयो ।
सो प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा लिएर छानबिन नगरिए सदनमा मात्र नभई सडक आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो । उहाँले सरकारलाई ठुलाबडालाई कारबाही नगर्ने कानुन बनाउन वा छानबिनको प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो । ‘उनीहरू प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरे पनि कान समाएर जेलमा हाल्ने, यो कानुन लेख्नुभयो भने सह्यै हुन्छ होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ’, उहाँले भन्नुभयो ।
