काठमाडौं । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई स्वतन्त्र रूपले काम गर्न दिनु पर्ने बताउनुभएको छ ।
उच्च स्तरीय छानबिन समितिको नाममा केवल प्रतिवेदन दिने समितिको अर्थ नहुने उहाँले बताउनुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले यस अघि बनेका समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा नआएको भन्दै छानिबन समिति प्रतिवेदनदेखि प्रतिवेदनसम्म सिमित हुने बताउनुभयो ।
अहिले छानबिन गरिरहेका सीआईबी र राजश्व अनुसन्धान कुनै दल विशेषका निकाय नभएका उहाँले बताउनुभयो । राज्यका यस्ता संयन्त्रलाई सबैले विश्वास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘तीनको हामीले मनोबल गिर्ने काम नगरौँ’, उहाँले भन्नुभयो ।
उहाँले अनुसन्धानको प्रक्रिया रहेका निकायको कामलाई अवरोध गर्न नहुने बताउनुभयो । ‘तालिम प्राप्त राज्यका निकायले अगाडि बढाएको छानबिन प्रक्रियालाई बिचमै अवरोध नहोस्’, उहाँले भन्नुभयो ।
सीप नभएका मानिसले गाडी चलाएमा दुर्घटना निम्तिने उहाँले बताउनुभयो । ‘गाडी सीप भएकाले मात्र चलाउने हो, सीप नभएकाले बिचैमा हाइज्याक गरी चलाएमा त्यसले दुर्घटनाबाहेक केही निम्तिँदैन’, पौडेलले भन्नुभयो ।
