काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले सरकारकै कारण प्रतिनिधि सभा बैठक एक महिनासम्म अवरुद्ध भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार हुँदा बित्तिकै संसद् खुलेको बर्तौलाले बताउनुभयो । ‘जब सरकारले बाल हठ त्याग्यो, बाल जिद्दी त्याग्यो, संसद् सुचारु भयो’, उहाँले भन्नुभयो ।
देशमा अहिले लम्पिस्किन जस्तो महामारीले पशु बस्तुमा ठुलो क्षति भएकोमा राज्यले नियन्त्रणको लागि कुनै काम नगरेको भन्दै उहाँले आलोचना गर्नुभयो । रोग नियन्त्रणको लागि काम गर्ने कार्यालयका लागि राज्यले एक रुपैँया पनि बजेट नछुट्याएको कारण महामारी नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो ।
बर्तौलाले जग्गाधनी पुर्जाको लागि अपिल गरिरहेका भूमिहीन जनतालाई जग्गा दिने कुरामा समेत राज्य जिम्मेवार नभएको बताउनुभयो । उहाँले अव्यवस्थित बसोबासीलाई अविलम्ब जग्गाधनी पुर्जा उपलब्ध गराउन माग गर्नुभयो ।
