काठमाडाैं । नेकपा एमालेका सांसद् गाेकुलप्रसाद बाँस्काेटाले जनताकाे विश्वासकाे जगमा उठेकाे पार्टी एमालेका नेताकाे अपमान नगर्न चेतावनी दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् बाँस्काेटाले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे अपमान गर्ने दुस्साहस नगर्न सत्तापक्षका नेतालाई चेतावनी दिनुभयाे । उहाँले तथ्यमा उभिएर मात्र बाेल्न चेतावनी दिनुभयाे ।
सांसद् बाँस्काेटाले रुखकाे हाँगामा बसेर पात हल्लाउने कुरा नगर्न र स्टन्टबाजी नभएर भ्रष्टाचार काण्डहरुकाे गहिराइ-जरासम्म पुगेर अनुसन्धान गर्ने तागत-आँट गर्न सत्तापक्षलाई सुझाव दिनुभयाे । हजाराैं कुतर्ककाे काम नभएकाे भन्दै उहाँले एउटा तथ्यले सम्पूर्ण कुराकाे छिनाेफानाे गर्ने बताउनुभयाे ।
आजकाे समाजमा स्टन्टबाजीकाे काम नभएकाे भन्दै सांसद् बास्काेटाले सत्य कुरा मात्रै बाहिर ल्याउन सत्तापक्षलाई चेतावनी दिनुभयाे । 'फलानाे विपक्षी नेता फलानाे दिन जेल जान्छ, के हेरेर बस्नुभएकाे छ ? लैजानुस् न ! हामीले त्यही मागेको हो कि जे चिज साँचो हो त्यही कुरा ल्याउनुस्, तर ललकार्ने, तर्साउने यो त गजब भयोऽ यत्रो जलहरीदेखि ३३ किलोको हल्ला किन उठाइएकाे रहेछ ? किन उठाइराखेको रहेछ भन्दाखेरी देखियो, यसाे हेरेकाे पूर्व देखाएर पश्चिम हान्ने एउटा तरिका छनि, अर्काकाे ढाडमा टेकेर त्यसैकाे टाउकाे हान्ने रहेछ नि, कुरा ठूला सुनिन्छ, कहिले काेसित टाँसिएर कहिले काेसित साटिएर ओभरनाइट सत्ता परिवर्तन गर्नेले जनताकाे विश्वासकाे जगमा उठेकाे पार्टीका नेतालाई अपमान गर्ने दुश्साहस नहाेस्, म चुनाैती र चेतावनी दिन चाहान्छु'- उहाँले भन्नुभयाे ।
सुन तस्करी काण्ड गर्नका लागि नै सत्तापक्षले पशुपतिकाे जलहरीबारे नभएकाे कुरा उठाएर जनताकाे ध्यान अन्यत्र माेडेकाे समेत सांसद् बाँस्काेटाले बताउनुभयाे ।
ढिलैपनि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेकाेमा उहाँले धन्यवाद दिनुभयाे । सांसद् बाँस्काेटाले भन्नुभयाे - 'तर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेकाे र पटक-पटक चल्दै आएकाे सुन प्रकरणकाे निम्ति उच्चस्तरीय एउटा छानबिन समिति जसले रजहाँसले दूधकाे दूध पानीकाे पानीकाे छुट्याओस् भन्ने न्याय माग गर्नकाे निम्ति प्रमुख प्रतिपक्षी लगायत दलले करिब सवा महिनाकाे काेटीहाेम लगाउनु पर्याे, अब यस्ताे हुन्छ कि हुँदैन ? हामीले सत्ता खाेस्न र कसैकाे कुर्सी हल्लाउन चाहेका थिएनाैं, हामीले देशप्रतिकाे जवाफदेहीताकाे माग गरेका थियाैं, ढिलै भएपनि एउटा आशाकाे न्यान्द्राे पलायाे ।'
यसबीचमा करिब २३ क्विन्टल रातारात पठाइएकाे र १ क्विन्टल सुन समातिएकाे सूचना पाइएकाे भन्दै उहाँले यसकाे पर्दा विस्तारै खुल्दै जाने बताउनुभयाे ।
अब जाँचबुझ आयाेग बन्ने र त्यसले छानबिन गर्ने भन्दै सांसद् बाँस्काेटाले त्यसका तथ्यलाई आफूहरुले स्वीकार गर्ने बताउनुभयाे । 'यसबीचमा हामीले प्राप्त गरेका सूचना अनुसार करिब २३ क्विन्टल सुन रातारात बाहिर पठाइयो, र एक क्विन्टल सुन समातियो, ६० केजी भयो क्यारे जोख्दा, यो फगत नौटंकी थियो वा खास कारणले समातियो ? यसको पनि पर्दा खुल्दै जाला, अब हामी एउटा आयोग बनाउने कुरा गरिसकेपछि त्यसको प्रतिक्षामा छौं र, त्यसका तथ्यहरूलाई हामी स्वीकार गर्दछौं'- उहाँले भन्नुभयाे ।
सदन न्याय माग गरेर राेकिएकाे भन्दै सांसद् बाँस्काेटाले लाेकतन्त्रमा प्रतिपक्षीकाे आवाज दमन गर्न खाेजेपछि भकुण्डाेजस्ताे उफ्रिनुपरेकाे बताउनुभयाे । 'हिजोसम्म पनि र अहिले पनि केही सत्तारुढ दलका साथीहरुले प्रश्न उठाउनु भयोऽ लोकतन्त्रमा प्रतिपक्षको आवाज दमन गर्न खोजेपछि भकुण्डोजस्तो उफ्रनुपर्ने स्थिति बन्यो, आज ठिक ठाउँमा आइपुगेको छ, सबैलाई बधाई भन्छु, धन्यवाद भन्छु, यहाँ त आउनुपर्दो रहेछ'-उहाँल भन्नुभयाे ।
मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले देश कहाँबाट चलेको छ भन्दै प्रश्न गर्नुभयाे । सांसद् बाँस्काेटाले भन्नुभयाे - 'एउटा अनौठो कुरा देखियो, १२ भाइ हो कि १७ भाइ हो मूलधारे मिडियाका सम्पादकहरुसित प्रधानमन्त्रीले एउटा मिटिङ गरेको सुनियो र उहाँहरुले नै जानकारी गराएअनुसार - खाेइ के भइरहेको छ, कसले गरिरहेको छ, कहाँबाट प्ले भइरहेको छ मलाई थाहा छैन, भन्ने प्रधानमन्त्रीको भनाइ हो मिडियाबाट उदृत भएको, तर म सोध्न चाहन्छु - देशको कार्यकारी को ? त्यसाे भन्न मिल्छ कि मिल्दैन ? यो जवाफ दिनुपर्ने विषय हाे कि हाेइन ? कहाँबाट चल्या छ त त्यसो भए ? कुन शक्ति केन्द्रले कुन रिमोटबाट देश चलाएको छ ? त्यसको जवाफ चाहियो नि, यत्तिकै जे पनि भन्दिने ।'
४० प्रतिशत सटर बन्द भइसकेकाे, निर्माण क्षेत्र ठप्प भएकाे र बाटाघाटा ध्वस्त भएका भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । बजेट आएकाे डेढ महिना नहुँदै सत्ता पक्षका सांसद् अर्थमन्त्रीकाेमा धाइरहेका बताउनुभयाे ।
केपी ओली नेतृत्वकाे सरकारले रणनीतिक सडकका रुपमा अगाडि सारेकाे नगरकोट-गैरिबिसौना-हिँगुवापाटी-दाेलालघाट ३८ किलाेमिटर सडक करिब १८ किलाेमिटर कालाेपत्रे भएकाे र बाँकीमा स्तराेन्नतिकाे काम सकिएकाे भन्दै उहाँले तर यसपल्ट सरकारले जम्मा १० लाख छुट्याएकाे भन्दै आपत्ति जनाउनुभयाे । अघिल्लाे सरकारले थालेका काम राेक्ने र कम बजेट दिने अनि लाेकप्रियताकाे उचाइले सगरमाथा नाप्याे जसरी सरकार अगाडि बढेकाे भन्दै उहाँले अर्काेपल्ट दुई तिहाइ आओस् तर जनताकाे काम हाेस् भन्दै सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
