काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिमा सदस्यको नाम हेरफेर गरिएको छ ।
बुधबार बसेकाे प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीअनुसार समितिमा प्रतिनिधित्व गर्ने सांसद् सदस्य हेरफेर गरिएको बताउनुभयाे । उहाँले बैठकमा नाम पढेर सुनाउनुभयाे ।
प्रस्तावित हेरफेरमा सांसद्हरु अमनलाल मोदी सार्वजनिक लेखा समितिमा, नागिना यादव कानुन, न्याय तथा मानवअधिकार समितिमा, संगीता मण्डल धानु शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा, सोनु मुर्मु कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहनुभएकाे छ ।
सांसद्हरु किरणकुमार साह महिला तथा सामाजिक मामिला समितिमा, डा. शशांक कोइराला अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, रामहरि खतिवडा राज्य व्यवस्था तथा सुशासन समितिमा, रुपा सोशी (चौधरी) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रहनुभएकाे छ ।
सांसद्हरु अब्दुल खान उद्योग, वाणिज्य श्रम तथा उपभोक्ता समितिमा, सांसद् विमला सुवेदी कानुन न्याय तथा मानवअधिकार समितिमा र सांसद् योगेश गौचन थकाली अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा रहनुभएकाे छ । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो ।
बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएकाे थियाे ।
