काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रदीप पाैडेलले इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसमा गरिएकाे शुल्क वृद्धिकाे निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पाैडेलले इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसमा बढाइएको शुल्क तत्काल फिर्ता लिन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईकाे ध्यानाकर्षण गाउनुभयाे ।
'त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे इञ्जिनियरिङ अध्ययन संस्थान यतिबेला आन्दाेलित छ, त्यहाँ झण्डै २ सय प्रतिशत शुल्क वृद्धि गरिएकाे छ इञ्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेकाे, सामान्य जनताकाे पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आइरहेकाे संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएकाे छ त्याे अस्वभाविक छ, तत्काल शुल्क वृद्धिकाे निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरुका माग पूरा गरियाेस्'- उहाँले भन्नुभयाे ।
नेपालकाे सबैभन्दा ठूलाे र विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय असाध्यै भद्रगाेल ढंगबाट चलिरहेकाे भन्दै सांसद् पाैडेलले साे विश्वविद्यालयलाई सुधार गर्न शिक्षा मन्त्रालयले श्वेत पत्र जारी गर्नुपर्ने बताउनुभयाे । उहाँले यसका लागि मन्त्रालयलाई आग्रह पनि गर्नुभयाे ।
इञ्जिनिययरतर्फ स्नातक तहमा शुल्क बढाइएपछि विद्यार्थीहरु आन्दाेलित छन् ।
