काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद (डीपी) अर्यालले श्रमिकहरूका लागि बढाइएकाे न्यूनतम पारिश्रमिक लागू गर्ने वातावरण बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् अर्यालले साउन ३२ गते सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै चिया बगानका श्रमिकककाे न्यूनतम पारिश्रमिक १३ हजार ८९३ र अन्य श्रमिकको न्यूनतम् १७ हजार ३ सय निर्धारण गरेकाे स्मरण गर्नुभयाे ।
श्रमिकहरुकाे न्यूनतम पारिश्रमिक बढाउने सरकारकाे निर्णय स्वागतयाेग्य रहेकाे तर केही उद्याेगी-व्यवसायीले औद्याेगिक भार पर्ने भन्दै बढेकाे पारिश्रमिक गर्दा लागू गर्न नसक्ने अभिव्यक्ति दिइरहेका भन्दै उहाँले बढेको पारिश्रमिक लागू गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभयाे ।
उसै त नेपालमा काम गर्ने वातावरण छैन भन्दै दैनिक हजाराैंकाे संख्यामा युवाहरु विदेशिने क्रम जारी रहेकाे भन्दै सांसद् अर्यालले बढेकाे पारिश्रमिक पनि लागू नगरे थप समस्या आउने बताउनुभयाे । 'सामान्य बढेको पारिश्रमिक पनि लागू गर्न सकिएन भने पक्कै पनि राम्रो सन्देश जाँदैन, उद्योग व्यवसाय प्रवर्द्धन गर्नु र श्रमिकको हकहितमा पनि काम गर्नु सरकारको दायित्व हाे, त्यसैले उद्योगी-व्यवसायीले बढेको पारिश्रमिक खुशीखुशी लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ'- उहाँले भन्नुभयाे ।
सरकारकाे निर्णय कार्यान्वयनका लागि संस्थागत रुपमा नै पहल गराउनुपर्ने समेत सांसद् अर्यालले बताउनुभयाे ।
