काठमाडाैं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले अहिलेकाे सरकारले देशलाई धार्मिक र जातीय दंगातर्फ लगिरहेको बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् सिंहले सरकारले धार्मिक दंगा निम्त्याउन खाेजेकाे बताउनुभयाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणपछि विवादास्पल बाबाहरुकाे नेपाल भ्रमणकाे लर्काे लागेकाे समेत उहाँले बताउनुभयाे । सरकारले भारतीय विवादास्पद बाबाहरुलाई अनावश्यक सुरक्षा दिएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
'सरकारका प्रधानमन्त्रीले, मन्त्रीहरुले भारतमा पुगेर गेरुबस्त्र धारण गरेपछि बाबाहरुको लर्को लागेको छ, प्रधानमन्त्रीकै निम्तो हो कि होइन बुझ्नैपर्छ, एउटा धीरेन्द्रकृष्ण शास्त्री आउनुभयो उहाँकाे भाषा कस्ताे थियाे ? उहाँले के-के बोल्नुभयो ? नेपाली जनताले सुनेका छन्,यहाँले सरकारले धार्मिक दंगा गराउन खाेज्दैछ, अर्काे मुरारीराज आउँदै हुनुहुन्छ, म सरकारसँग साेध्न चाहान्छु भोलि कुनै बुद्धिष्ठ, मुस्लिम, क्रिश्चियन आउँदाखेरी त्यस्ताे सुरक्षा अगाडि पछाडि दिन मिल्छ कि मिल्दैन ? त्यस्ताे सुरक्षा दिन मिल्छ कि मिल्दैन ? त्यस्ताे छुट हुन्छ कि हुँदैन ? राज्यकाे मन्त्रीहरु लर्काे लागेर जान्छन् कि जाँदैनन् ? किनकी नेपालकाे संविधानले धर्मनिरपेक्ष संविधान हाे, प्रधानमन्त्रीलाई धार्मिक दंगामा लग्ने छुट छैन, अहिलेकाे सरकार देशलाई धार्मिक र जातीय दंगातिर लगिरहेको छ ।'
जातीय र धार्मिक दंगामा फस्ने देश ३०औं वर्षसम्म द्वन्द्वमा रहने भन्दै उहाँले त्याे द्वन्द्व समाजकाे जराजरामा जाने बताउनुभयाे । मधेशलाई धार्मिक दंगाकाे चपेटामा पार्न खाेजिएकाे भन्दै सांसद् सिंहले त्यसमा सरकार नै क्रियाशील रहेकाे बताउनुभयाे ।
नियम कानुन सबैका लागि भन्दै उहाँले गठबन्धनका नेतालाई कुनै छुट नभएकाे बताउनुभयाे । 'याे देशमा नियम कानुन सबैका लागि हाे, गठबन्धन, गठबन्धनका नेताका लागि छुट हुँदैन, जसरी ललिता निवासमा छुट भयाे, भुटानी शरणार्थीमा छुट भयाे, याे सरकारकाे मन्त्री प्रधानमन्त्रीलाई नियम-कानुन लाग्दैन ? के कारणले ४ महिनामा मेट्राेकाे प्रहरी चेञ्ज भयाे ? श्याम ज्ञवालीकाे गल्ती के थियाे ? गृहमन्त्रीले सदनमा जानकारी गराउनुपर्याे, यात हरेक प्रहरी अधिकारीकाे ४-४ महिनामा नियमावली बाउनुपर्याे, याे माेनाेपाेलीले चल्दैन, रुल अफ ल यसलाई मानिँदैन'- सांसद् सिंहले भन्नुभयाे ।
आफूखुशी गर्ने कुरालाई कार्यकारीकाे अधिकार मान्न नसकिने भन्दै उहाँले गठबन्धान सरकारले कानुन र संविधान मिच्ने काम गरिरहेकाे बताउनुभयाे । सरकारकाे याे कदमले देशलाई राजनीतिक दुर्घटनातर्फ लगिरहेकाे समेत सांसद् सिंहले बताउनुभयाे । गठनबन्धन सरकारका असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले ठिक ठाउँमा लगिरहेकाे उहाँले बताउनुभयाे ।
नेपालमा लगानीमैत्री वातावरण नभएकाे भन्दै सांसद् सिंहले अनुदान पनि आउन छाडेकाे बताउनुभयाे ।
