काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद् विकास काेष (संसदीय पूर्वाधार विकास कार्यक्रम) बारे सर्वाेच्च अदालतकाे आदेश शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्नू भन्ने सर्वाेच्चकाे आदेश आधारभूत रुपले शक्ति पृथकीकरणको सिद्धान्त विपरित रहेको बताउनुभयाे ।
सदनले पास गरेको विनियोजन विधेयकमा रहेको संसद् विकास कोषसम्बन्धी विषय कार्यान्वयन नगर्नु भनेर दिएको आदेश दिनु गलत रहेकाे उहाँले बताउनुभयाे । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै प्रमुख सचेतक लेखकले राज्यका तीन अंगले अर्काको सीमामा हस्तक्षेप गर्दा लोकतन्त्रलाई कमजोर पार्ने काम हुने बताउनुभयाे ।
उहाँले आफूसँग भएको स्रोतको विनियोजन गर्ने कानुन बनाउने काम संसद्को काम भएकाले यसकाे हस्तक्षेपले संसदीय व्यवस्थालाई कमजोर बनाउने बताउनुभयाे ।
न्यायिक क्रियाशिलताले धेरै देशहरुमा लोकतन्त्रलाई समाप्त पार्ने काम गरेको समेत प्रमुख सचेतक लेखकले बताउनुभयाे ।
