काठमाडौं । लम्पी स्किन रोगबाट गत ५ महिनामा देशभर ५२ हजार ४ सय ४८ पशु चाैपायाँको मृत्यु भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले गत ५ महिनामा देशभर ५२ हजार ४ सय ४८ पशुको मृत्यु भएको जानकारी दिनुभयाे ।
उहाँले लम्पी स्किनबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी भएकाेमा १२ लाख ८८ हजार ७५९ निको भएका जानकारी दिनुभयाे । संक्रमित पशु चाैपायाँमध्ये अझैपनि १ लाख ५ हजार २५३ पशु बिरामी रहेकाे समेत जानकारी दिनुभयाे ।
तीनै तहका सरकारबाट संकलित तथ्यांकका आधारमा यस्तो विवरण आएको मन्त्री भुसालले जानकारी दिनुभयाे । रोगकाे उपचार र नियन्त्रणका लागि सरकारले भरभग्दुर प्रयास गरिरहेको भन्दै उहाँले बिरामी पशुका लागि विभिन्न देशबाट खोप आयात भइरहेको जानकारी समेत दिनुभयाे ।
