काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समितिको सभापतिको चुनावका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद् सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे हाे । जसअनुसार आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गरिनेछ ।
प्रतिनिधि सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित भोलि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।
सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सी सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिने छन् ।
प्रतिनिधि सभा अन्तर्गतका समितिको सभापतिको चुनावका लागि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० बमोजिम भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ ।
