काठमाडाैं । प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समितिको सभापतिका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।
समितिका सभापतिकाे चुनावका लागि आज उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ । प्रतिनिधि सभाको सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्को कुनै एक सदस्यको समर्थनसहित बिहान ११ देखि अपरान्ह ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ ।
निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको सूची आजै अपरान्ह प्रकाशित गर्ने कार्यतालिका रहेकाे संसद् सचिवालयले जनाएकाे छ । यस्तो सूची दर्ताक्रमअनुसार निर्धारण हुनेछ ।
दर्ता भएको प्रस्ताव सम्बन्धित समितिको बैठकमा प्रस्तावकले भोलि प्रस्तुत गर्नेछन् । समर्थकले प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ ।
प्रधानमन्त्री र विषयगत मन्त्रालयका मन्त्रीहरू एक भन्दा बढी समितिमा पदेन सदस्य रहने भएकाले यस्ता सदस्यले आफू कुन समितिको मतदानमा सहभागी हुने भन्ने लिखित जानकारी आजसम्ममा सभामुख सभामुख देवराज घिमिरेलाई दिइसक्नुपर्नेछ ।
समिति सभापतिका लागि एक मात्र प्रस्ताव दर्ता भएमा समर्थक सदस्यले बोलिसकेपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
प्रस्तावको सूचना एक भन्दा बढी भएमा दर्ताक्रमअनुसार प्रत्येक समर्थक सदस्यले बोलिसकेपछि सबै प्रस्तावमाथि सामान्य छलफल हुनेछ र त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
प्रतिनिधि सभा चुनाव भएको ९ महिनापछि बल्ल प्रतिनिधि सभाका समितिले सभापति पाउन लागेका हुन् । मिनी पार्लियामेन्टका रुपमा लिइने संसदीय समितिहरुको बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्दै आएको छ ।
